कांग्रेस महामन्त्रीद्वयसँग प्रधानमन्त्रीले गरिन् चुनावी परामर्श, के भयो छलफल ?

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका नेताहरुसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी हुन् ।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मासँग दिउँसो ४ देखि ५ बजेको बीचमा करिब एक घण्टा छलफल गरेकी हुन् ।
छलफलका क्रममा आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताए ।
प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन्। त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भए ता पनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय पनि गर्छौँ। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’
महामन्त्रीद्वयले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरूसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए । जेनजीलगायत सबै राजनीतिक दलहरूसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि के-के सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले के-के निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उनीहरूको थियो ।
प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छन् । आज पार्टीको बैठक भएकाले अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको श्रेष्ठले बताए । प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरक-फरक दलका नेताहरूसँग छलफल गरेकी थिइन् ।
प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबिच त्रिपक्षीय संवाद भइसकेको छ ।





प्रतिकृया दिनुहोस्