नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ : नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू लाई शपथ गराएका हुन् ।
पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति पौडेलले शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए ।
अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए ।
खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन् । आन्दोलनकारी जेन–जीले रुचाएका व्यक्ति हुन् दुवै जना । जेन–जी आन्दोलनपछि उनीहरूको मागलाई निष्कर्षमा पुर्याउन अधिवक्ता अर्यालले भूमिका खेलेका छन् ।
अन्य मन्त्रीहरूको छनोटमा पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेन–जी युवासँग परामर्श गरिरहेकी छन् ।
जेन–जी आन्दोलनको मागअनुसार पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् । प्रधानमन्त्री बनेको तेस्रो दिनमा उनले केही मन्त्री छानेकी हुन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबार पुगेर पदबहाली गरेकी हुन् ।
यस्तो छ कार्की नेतृत्वको मन्त्रिपरिषद्को कार्यविभाजन






प्रतिकृया दिनुहोस्