May 2, 2026, Saturday
२०८३ बैशाख २०

राजसंस्थाको पक्षमा उभिए पशुपति राणा

काठमाडौं साउन २५(ई-रैवार): गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्।
२०६२र०६३ को जनआन्दोलनले राजसंस्थालाई विदाई गरेर गणतन्त्र ल्याएपछि राप्रपामा कमल थापा समूहमात्र हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको एजेण्डा उठाउँदै आएको थियो। राणा समूह भने देश गणतन्त्रमा गइसकेकाले राजसंस्था छाडेर हिन्दु राष्ट्रको एजेण्डामा मात्रै केन्द्रीत थियो।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा राप्रपा संयुक्तका अध्यक्ष राणाले राष्ट्र प्रमुखको भूमिकामा राजसंस्थालाई राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेको राष्ट्रपतिको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने उनको भनाई छ।
‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भैसक्यो, अहिलेको राष्ट्र प्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन्’, रिपोर्टर्स क्लबको साक्षात्कारमा राणाले भने।
निष्पक्ष र कुनै पनि पार्टीमा आवद्ध नभएकोले राजसंस्थाजस्तो पुरानो संस्थाले मात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्नसक्ने उनको तर्क छ। ‘हामीले त राजसंस्थासहितको प्रजातन्त्र भनेका छौं। यसमा बहस पैरवी हुनुपर्छ’, उनले भने।
अध्यक्ष राणाले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेकोमा आपत्ति जनाए। उनले भने, ‘राष्ट्रपतिले आफ्नो सोख पुरा गर्नको लागि अहिले पोलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो। जुन जनभावना विपरित र स्वार्थ प्रेरित छ।’
राणाले ८१ प्रतिशत हिन्दूहरु भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने प्रकृतिको मुलुकलाई धर्मनिरपेक्षता बनाएकोमा आक्रोश पोखे। उनले भने, ‘अब यो देशलाई हिन्दूराष्ट्र बनाउन अत्यावश्यक छ। हामीले संविधान जारी गर्दा पनि यो कुरा जोडदार रुपमा उठाएका थियौं।’

पूर्वराजासँग नडराउन ओली र प्रचण्डलाई आग्रह
अध्यक्ष राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग नडराउन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह समेत गरे।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न दिएको चेतावनीको बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘प्रचण्डजीले जे बोल्नुभो, त्यो उहाँको स्वतन्त्रताको कुरा हो। तर, धम्की नै दिएर यो गर, उ नगर भनेर भन्नु चाहीँ हुँदैन। राजाले म फर्किन्छु भनेर भाषण गरेर हिँडेको छैन। उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भीड लाग्छ, त्यसो हुनु अपराध होरु’
पूर्वराजासँग ओली र प्रचण्ड तर्सिएका हुन तरु भनेर सोधिएको अर्को प्रश्नमा उनले प्रष्ट्याए, ‘उहाँहरु किन तर्सिनुहुन्छ, मैले बुझ्न सकेको छैन।’