April 17, 2026, Friday
२०८३ बैशाख ४

गौरा पर्वको आज दोस्रो दिनः सुदूरपश्चिममा नानी गौरा हर्ष उल्लासपूर्वक मनाइँदै

बैतडी : सुदूरपश्चिम प्रदेशमा आज नानी गौरा पर्व उल्लासपूर्वक मनाइँदै छ । गौरापर्वको दोस्रो दिन मानिने आज नानी गौरामा व्रतालु महिलाहरु बिहानै नजिकैका नदी, तलाउ र धारामा गएर बिरुडा लाई धुने गर्दछन् ।

अघिल्लो दिन भिजाइएका पाँच थरी अन्न ‘बिरुडा’ लाई महिलाहरुले आज शुद्ध जलाशयमा लगेर धुने चलन पाटन नगरपालिका ०३ कि बसन्ती भट्टले बताइन्। पूजाआजापछि महिलाहरुले धान, साउँ, तिल, अपामार्गलगायतका वनस्पतिबाट गौराको प्रतिमूर्ति बनाएर श्रृङ्गारपटार गरी पूजा गर्ने परम्परा रहिआएको भट्टले बताइन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–५ निवासी ६५ वर्षीया धनु देवी भट्टले भन्नुभयो, ‘‘हामीले हरेक वर्ष यसरी गौरालाई बिरुडासहित पूजा अर्चना गर्छौ । यसलेगर्दा घरमा सुख, शान्ति र समृद्धि ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।’’

धारामा महिलाहरुको भीड लाग्दा गाउँमा पर्वको रौनक झल्किएको छ । युवतीहरु परम्परागत भेषभूषामा सिँगारिएर धारा तथा तलाउमा पुगेका दृश्य मनमोहक बनेको स्थानीय शिक्षीका पूजा बिष्टले बताउछन् । गौरापर्वमा महिलाले आफ्नो परिवारको सुख–शान्ति र दाम्पत्य जीवनको दीर्घायुप्रतिको कामना गर्दै व्रत बस्ने गरेका छन् । ‘‘यो हाम्रो मात्र पर्व होइन, पौराणिक कालदेखि नै हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पतिको रूपमा पाउन गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाउने चलन रहेको हो,” धार्मिक अगुवा सिद्धराज भट्टले स्मरण गराउए ।

गौराको तेस्रो दिन अमुक्ताभरण मनाइन्छ, यो दिन पनि महिलागहरु दिनभरिनै व्रतबस्ने गर्छन् र साझ पख गौरा राखिएको घरमा गएर देउतालाई चढाइने ध्वजा, दुबधाको लगायतका वस्तुहरुलाई पुरोहितद्वारा शुद्ध पार्छन् र आफुहरु पनि प्रसाद ग्रहण गर्छन् त्यसपछि मात्रै एक छाकी खाना खान्छन् । भने चौथो दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली मुख्य दिनका रूपमा मनाइने परम्परा रहेको स्थानीय व्रतालु महिला बिष्णुमति भट्टले बताइन् । यस क्रममा घर–घरमा भेला भई गौरागीत गाउँदै महिलाहरुले रातभर नृत्य गर्ने प्रथा अझै जीवित रहेको उनले बताइन्।