मुम्बईलाई हराउँदै पन्जाब आइपिएल फाइनलमा, उपाधिका लागि बेंग्लुरूसँग खेल्ने

काठमाडौं । पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल पुगेको छ। गएराति भएको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाबले फाइनलमा स्थान पक्का गरेको हो।
पन्जाबले मुम्बईलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो । मुम्बईले प्रस्तुत गरेको २ सय ४ रनको लक्ष्य पन्जाबले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबले अब उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ ।
पन्जाबका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित नटआउट ८७ रनको योगदान दिए । नेहाल वाधेराले २९ बलमा ४८ रनको योअग्दन दिए । नेहाल र श्रेयसले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए ।
ओपनर प्रियांश आर्याले २० रन जोडेका थिए । जोश इंग्लिसले ३८ रनको योगदान दिँदा प्राभ्सिम्रन सिंहले ६ रन बनाए । मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १-१ विकेट हात पारे ।
त्यसअघि मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । कप्तान रोहित शर्मालाई तेस्रो ओभरमै ८ रनमा गुमाएपछि जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए । बेयरस्टोले २४ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे ।
तिलक र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे । सूर्यले २६ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे । तिलक पनि १५ औं ओभरमा आउट हुनुअघि २९ बलमा २ चौका र २ छक्कासहित समान ४४ रन बनाउँदै आउट भए ।
नमन धिरले १८ बलमा ७ चौकासहित ३७ रन जोडेसँगै मुम्बईले २ सय रनको आँकडा छुन सफल भएको थियो । कप्तान हार्दिक पान्ड्याले १३ बलमा १५ तथा राज बवाले ४ बलमा ८ रन जोडे ।
पन्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १-१ विकेट लिए ।
पहिलो क्वालीफायरमा पन्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलोरले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल खेल मंगलबार ७:४५ बजे हुनेछ।





लेखकको सम्वन्धमा