शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने भएको छ।
मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम शनिबार विराटनगरमा हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो।
अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा संवाद कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाबाट शिक्षा ऐनसँग सम्बन्धित सुझाव, धारणा र अपेक्षा संकलन गरिनेछ।
मन्त्रालयका अनुसार शिक्षा ऐन निर्माण प्रक्रियालाई थप सहभागितामूलक र व्यवहारमुखी बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो। प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणका क्रममा समेटिने मन्त्रालयको भनाइ छ।
सातै प्रदेशमा हुने प्रत्यक्ष संवादमार्फत विद्यालय शिक्षा सुधार, शिक्षक व्यवस्थापन, विद्यार्थीका समस्या, स्थानीय तहको भूमिका तथा समग्र शिक्षा प्रणालीका चुनौतीबारे सरोकारवालाको धारणा बुझ्ने मन्त्रालयको तयारी छ।





प्रतिकृया दिनुहोस्