August 15, 2026, Saturday
२०८३ श्रावण ३०

रोल्पामा पहिरोको कहर : दुई दिनमा १५ जनाको मृत्यु, बस्ती शोकमा

रोल्पा : लगातारको वर्षापछि आएको पहिरोले रोल्पाको पूर्वी क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिकाका बस्तीहरू शोकमा डुबेका छन्।

प्रहरीका अनुसार बुधबार थबाङ गाउँपालिका–५ कोटलबारामा आएको पहिरोले एउटा बस्ती नै बगाउँदा ११ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। दुई जना घाइतेको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

पहिरोमा ज्यान गुमाउनेमा १८ वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ८५ वर्षीया हस्तकला रोकामगर, ७ वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुनमगर, ३४ वर्षीया विष्णु पुनमगर, ८० वर्षीय बलबहादुर पुनमगर र ६१ वर्षीय लिलबहादुर पुनमगर रहेको प्रहरीले जनाएको छ।

९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर अझै बेपत्ता छन्। घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

‘एक्कासी पहिरो आयो, अकालमै ज्यान गुमाउन पुगे’

कोटलबाराको घटनाले आफन्त र स्थानीयवासीलाई गहिरो पीडामा पारेको छ। मृतक ७ वर्षीय अशोक पुनमगरका काका कृष्ण पुनमगरका लागि त्यो रातको सम्झना कहिल्यै नमेटिने पीडा बनेको छ।

‘घरबाहिर अविरल वर्षा भइरहेको थियो। कोही खाना खाइसकेका होलान्, कोही खाना खाने तर्खरमा थिए होलान्, केही खाएर बसेका थिए होलान्। कोही आफ्नो बिस्तारामा पल्टिएका थिए होलान्,’ उनले भने, ‘एक्कासी पहिरो आयो र त्यसमा परेर अकालमै ज्यान गुमाउन पुगे। मनभरि पीडाको भारी छ।’

उनका लागि यो घटना परिवारको मात्रै नभई जीवनभर सम्झनामा रहने त्रासदी बनेको छ। ‘हाम्रो मानसिकतामा कहिल्यै नमेटिने घटना बन्न पुगेको छ,’ उनले भने।

पहिरोले थबाङ–५ मा मात्रै ९ घर, एउटा घुम्ती पसल, दुई गोठ र एउटा चर्च गरी १३ वटा संरचना बगाएको छ। गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरका अनुसार थबाङले एकै घटनामा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको छ।

‘हामीले यति धेरै मानवीय र भौतिक क्षति हुन्छ भनेर कल्पना गरेका थिएनौँ। दुःखद घटना घट्यो,’ उनले भने, ‘मृतक सबैप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गाउँपालिकाको तर्फबाट र मेरो तर्फबाट व्यक्त गर्दछु।’

थबाङको पीडा सेलाउन नपाउँदै सुनछहरीमा अर्को विपत्ति

थबाङमा पहिरोको उद्धार तथा खोजी कार्य चलिरहेकै बेला रोल्पाको अर्को स्थानीय तह सुनछहरी गाउँपालिकामा पनि पहिरोले मानवीय क्षति पुर्‍यायो।

सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फलबाङका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र गिट्ठेमा बस्ने ६४ वर्षीय लामी घर्तीमगर रहेका छन्।

सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगर अघिल्लो दिन थबाङ–५ कोटलबारामा गएको पहिरोमा मृतक तथा बेपत्ताको खोजी र उद्धारका लागि खटिएका थिए। तर, थबाङको उद्धारमा जुटिरहेका बेला आफ्नै गाउँपालिकामा उस्तै प्रकृतिको विपत्ति आइपुग्यो।

चार जनाको ज्यान जाने गरी भएको घटनाले आफू मर्माहत भएको अध्यक्ष पुनमगरले बताए। ‘प्रकृतिले कतिबेला धोका दिन्छ, त्यो कसैले थाहा पाउँदैन। जुन घटनाले गाउँपालिकालाई चिन्तित र मर्माहत बनाएको छ,’ उनले भने, ‘मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’

दुई दिनमै १५ जनाको मृत्यु

बुधबार र बिहीबार गरी रोल्पामा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्। दुई जना घाइतेको उपचार भइरहेको छ।

लगातारको वर्षासँगै आएको पहिरोले घरबस्तीमा क्षति पुर्‍याएपछि स्थानीय तह, सुरक्षाकर्मी तथा स्थानीयवासी खोज तथा उद्धारमा जुटेका छन्। बेपत्ताको खोजी कार्य जारी छ।

घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ।

रोल्पाका दुई स्थानीय तहमा लगातार भएका यी घटनाले वर्षायाममा पहाडी बस्तीको जोखिमलाई फेरि उजागर गरेको छ। पहिरोले घर मात्र बगाएको छैन, थुप्रै परिवारको आधार, आशा र भविष्यसमेत एकैपटक खोसेको छ।