जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

काठमाडौं : सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई स्वरोजगार तथा उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई लक्षित गरी नयाँ कर्जा पद्धति थप गरेको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी कार्यविधि संशोधन गरिएको मन्त्रालयले जनाएको छ।
संशोधित कार्यविधिअनुसार जेनजी आन्दोलनका सहिद परिवार वा घाइतेलाई स्वरोजगार तथा उद्यम सञ्चालनका लागि अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सकिनेछ। त्यसका लागि सम्बन्धित व्यक्ति जेनजी आन्दोलनमा सहिद भएको व्यक्तिको परिवार सदस्य वा आन्दोलनमा घाइते भएको कुरा नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ।
कार्यविधिले ‘जेनजी आन्दोलनका सहिद परिवार’ भन्नाले आन्दोलनमा सहिद भएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई जनाउने स्पष्ट पारेको छ।
सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग तथा स्टार्टअप उद्यम सञ्चालनका लागि लिन सकिनेछ। यसबाहेक नेपाल सरकारले समय–समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसायका लागि समेत कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
सरकारले आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई राहतमा मात्र सीमित नराखी स्वरोजगार र उद्यमशीलतामार्फत दीर्घकालीन रूपमा आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको हो।
नयाँ व्यवस्थाले जेनजी आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई आफ्नै व्यवसाय तथा उद्यम सञ्चालन गरी आयआर्जनको अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस्