March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

बन्द कोठामा प्रदेश सरकारको समिक्षा

धनगढी साउन १३(ई-रैवार): सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७५र०७६ को बार्षिक प्रगती समिक्षा गोष्ठी बन्द कोठामा सम्पन्न गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारलाई समेत प्रवेशमा निषेध गर्दै समिक्षा बैठक सम्पन्न गरिएको हो। प्रदेश सरकारले गत आर्थिक बर्षमा आएको विकास बजेट समेत खर्च गर्न नसकेको भन्दै विरोध भईरहेका बेला प्रदेश सरकारले गोप्य बैठकमा समिक्षा सम्पन्न गरेको हो।
समिक्षा गोष्ठीका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले साढे १० बजे पत्रकारलाई आमन्त्रण गरेको थियो। तर चार बजे सम्म पनि पत्रकारलाई समिक्षा बैठकमा भईरहेको छलफल सुन्न समेत प्रदेश सरकारले नदिएको हो।
समिक्षा बैठकमा सात वटै मन्त्रालयले प्रगती पव्रतिवेदन प्रस्तुत गरेको बुझिएको छ। बैठकमा पत्रकारको समेत सहभागीता रहे प्रदेश सरकारको कमजोरी सञ्चार माध्यममा आउने भएकाले प्रवेशमा निषेश लगाईएको आरोप लगाईएको छ। पत्रकारलाई समिक्षा बैठकमा गएर फोटो खिच्न मात्रै दिईएको थियो।
समिक्षा बैठक सम्पन्न भईसकेपछि मुख्यमन्त्री त्रिलोचन भट्ट र सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादु शाहलाई प्रतिक्रीया माग्दा समेत बोल्न अस्विकार गरे। पत्रकारलाई समिक्षा बैठकमा प्रवेश गर्न नदिएको प्रदेश सरकारले बैठक सम्पन्न भएपछि भने सामाजिक सञ्जाल मार्फत गोष्ठीमा भएको छलफलको विषयमा जानकारी दिएको छ।
मुख्यमन्त्रीका स्वकीय सचिव शिव वलीले सामाजिक सञ्जाल फेसवुक मार्फत गत बर्षको बार्षिक प्रगती सन्तोषजनक रहेको र आगामी बर्ष कार्ययोजना सहित अगाडी बढ्न मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिएको जानकारी दिएका छन्।
आज नै प्रदेश मन्त्रीपरिषद्को बैठक पनि सम्पन्न भएको छ। बैठकले तल्लो चमेलीया जलविद्युत आयोजना सञ्चालन सहमतीका लागि संघीय सरकारलाई आग्रह गर्ने, कषि तथा पशुपन्छी व्यवसाय प्रवर्दन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ।