आइपिएल : हैदरावादविरूद्ध कोलकाताको सानदार जित, आज मुम्बई र लखनउ खेल्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)को साविक विजेता कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादविरूद्ध सानदार जित निकालेको छ।
इडेन गार्डेनमा जारी सिजनको चौथो खेलमा कोलकाताले हैदरावादलाई ८० रनले पराजित गर्दै सानदार जित निकालेको हो।
कोलकाताले २०१ रनको लक्ष्य पछ्याएको हैदरावादलाई १६.४ ओभरमा अल आउट गरी १२० रनमा समेटेको हो।
त्यस क्रममा वैभव अरोरा र वरूण चक्रवर्थीले तीन/तीन विकेट लिए। आन्द्र रसेलले २ तथा हर्शित राना र सुनिल नारायणले एक/एक विकेट लिए।
विस्फोटक ब्याटिङ गर्ने क्षमता राख्ने ब्याटरहरू पनि गएराति कोलकाताको बलरअघि निरीह देखिए। हैदारावादका हेनरिक क्लासेनले बनाएको ३३ रन सर्वाधिक रह्यो।
पहिलो बलमा चौका हानेका ओपनर ट्राविस हेड दोस्रो बलमा आउट भए। अभिषेक शर्माले ६ बल खेल्न पाए। पाँच बलमै इशान किसन आउट हुन पुगे।
नितिश कुमार रेड्डीले १५ बल खेलेर २ चौका र १ छक्का हान्दै १९ रन मात्रै बनाए। कमिन्डु मेन्डिसले २७ रन जोड्न २० बलमा १ चौका र २ छक्का हाने। कप्तान पाट कमिन्सले १४ रन जोडे। अरू ब्याटरले दोहोर अंक पनि बनाउन सकेनन्।
पहिले ब्याटिङ गरेको कोलकाताका लागि वेंकटेश ऐयर र अंक्रिश रघुवंशीले अर्धशतक हाने। वेंकटेशले २९ बलमा ७ चौका र तीन छक्का हाने। अंक्रिशले ३२ बलमा ५ चौका र २ छक्का हाने।
त्यस्तै कप्तान अजिन्क्य रहानेले २७ बल खेलेर ३८ रन जोडे। उनले १ चौका र ४ छक्का हाने। रिंकु सिंह ३२ रन बनाएर नट आउट रहे।
बलिङतर्फ हैदरावादका मोहम्मद शामी, पाट कमिन्स, जीशन अन्सारी, हर्शल पटेल र कमिन्डु मेन्डिसले एक/एक विकेट लिए।
हैदारावादको यो तेस्रो हार हो। पहिलो खेलमा राजस्थान रोयल्सलाई हराए पनि त्यसपछि लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो।
आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदै
आइपिएलमा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ । अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो ।
समान ३ खेलमा २ अंक जोडेको मुम्बई छैठौं र लखनउ सातौं स्थानमा छ । सन् २०२२ आइपिएलमा प्रवेश गरेको लखनउले मुम्बईविरुद्ध उत्कृष्ट हेड-टु-हेड रेकर्ड बनाएको छ । लखनउले ५ पटकको आइपिएल च्याम्पियन मुम्बइविरुद्ध ६ खेल खेलेको छ । जसमा लखनउ ५ र मुम्बईले १ मात्र खेल जितेको छ ।
लखनउ विरुद्ध मुम्बईले पाएको एक जित २०२३ को एलिमिनेटरको हो । बाँकी लिगका सबै ५ खेल लखनउले जितेको थियो। लखनउका लागि यो सिजनमा निकोलस पूरन र मिचेल मार्शले उत्कृष्ट इनिङ खेलेका छन् । तर, ऋषभ पन्तसहित अन्य खेलाडीले अझै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । पन्तले ३ इनिङमा १७ रन मात्र बनाएका छन् । लखनउले रिटेन गरेका आयुष बडोनीले ५१ रन बनाएका छन् ।
तीव्र गतिका बलरहरू आवेश खान, आकाश दीप, मयंक यादव र मोहसिन खानलाई चोट लागेपछि लखनउको समस्या झनै बढेको छ। आकाश भने सिजनको पहिलो खेल खेल्न फिट भएका छन् ।
मुम्बईले कोलकाताविरुद्ध फराकिलो जित हात पार्नुअघि लगातार हार बेहोर्दै सिजनको सुरुआत गरेको थियो । जसप्रित बुम्राहबिना पनि मुम्बई यस सिजनका उत्कृष्ट बलिङ टोलीमध्ये एक देखिएको छ ।
सूर्यकुमार यादव लयमा फर्किएका छन् । रायन रिकल्टनले केकेआरविरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए । तर, रोहित शर्माले ३ इनिङमा मात्र २१ रन जोडेका छन् । यो खेलमा दुवै टोलीको ब्याटिङको परीक्षा हुन सक्छ ।





प्रतिकृया दिनुहोस्