March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

आइपिएलमा राजस्थानको पहिलो जित, आज मुम्बई र कोलकाता खेल्दै

गुवाहाटी। राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले जित निकालेको हो।

राजस्थानले दिएको १८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनायो ।ओपनर रचिन रविन्द्र रनको खाता नखोली आउट भए। दोस्रो विकेटका लागि राहुल त्रिपाठी २३ रनमा र धिवम दुबे १८ रनमा पबिलियन फर्किए।

३ विकेटको नोक्सानीमा ७२ रन जोडेको चेन्नईले कमजोर सुरुवात गर्यो। लगतै विजय शंकर ९ रनमा आउट भए। क्रिजमा टिकेका कप्तान ऋतुराज गाइक्वाडले ३७ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाउन सफल रहे। तर उनी ६३ रन जोडेर आउट भएसँगै चेन्नई हार नजिक पुगेको थियो। उनले ४४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार ।

रविन्द्र जडेजा अविजित ३२ रनमा रहे पनि जितको लागि प्रयाप्त भएन्। महेन्द्र सिंह धोनीले १६ रन जोडे। बलिङमा वानिन्डु हसरङ्गाले ४ ओभर बलिङ गर्दै ४ विकेट लिए।

त्यसअघि चेन्नईले टस जितेर राजस्थानलाई‌ ब्याटिङका लागि आमन्त्रण गरेको थियो। राजस्थानले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८२ रनको योगफल बनायो।

ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिन रानाले दोस्रो विकेटका ८२ रनको साझेदारी गरे। सामसनले १६ बलमा समान १ छक्का र चौकासहित २० रन जोडे।

नितिनले मात्र ३६ बलमा १० चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए । नितिन र कप्तान रियान परागले तेस्रो विकेटका‌ लागि ३८ रनको साझेदारी गरे। परागले २८ बलमा समान २ छक्का र चौकाको मद्दतमा ३७ रन जोडे।

सिमरोन हेटमोयरले १९ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। खलिल अहमद, नुर अहमद, मथिसा पथिरानाले समान २ , रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

लगातारको दोस्रो हारपछि पहिलो जित निकालेको राजस्थानले ३ खेलबाट २ अंक बनाएको छ। लगातार दोस्रो खेलमा पराजित चेन्नईसँग पनि ३ खेलमा २ अंक रहेको छ।

आज मुम्बई र कोलकाता खेल्दै

आईपीएलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स आमनेसामने हुँदै छन् । खेल मुम्बईको घरेलु मैदान वाङ्खेडे स्टेडियममा बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । मुम्बईको कप्तानमा हार्दिक पाण्ड्या छन् भने कोलकाताको कप्तानमा अजिन्क्या रहाने छन् ।

मुम्बई अहिलेसम्म खेलेका दुवै खेलमा पराजित भएको छ । पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पराजित भएको मुम्बई दोस्रो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

यता कोलकाताले भने २ खेल खेल्दा १ जित निकालेको छ । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलसँग पराजित भएको कोलकाताले दोस्रो खेलमा राजस्थान रोयल्सलाई हराएको थियो ।

मुम्बई घरेलु मैदानमा यस सिजन पहिलो खेल खेल्दै छ यद्यपी शनिबार खेलेपछि एक दिनको ग्याप मात्र पाएको थियो । कोलकाता भने लामो ग्यापपछि आउँदै छ ।

दुई टोलीबीच हालसम्म भएका खेलमा मुम्बईले २३ खेल जित्दा कोलकाताले ११ खेल जितेको छ । पछिल्ला ६ मध्ये ५ खेल कोलकाताले जितेको छ । गत सिजन १२ वर्षको खडेरी तोड्दै मुम्बईकै मैदानमा कोलकाताले जितेको थियो ।

विशेषगरी लगातार दुई हार बेहोरेको मुम्बई आज पहिलो जितको खोजीमा हुन्छ भने दोस्रो खेल जितेको लय कोलकाताले कायमै राख्न चाहनेछ ।