April 18, 2026, Saturday
२०८३ बैशाख ५

खाना पकाउने क्रममा आगलागी हुदाँ डोटीको के.आई. सिंहमा दुईतले घर जलेर ध्वस्त

डोटी । डोटीको के.आई. सिंह गाउँपालिकाको झिगा बस्तीमा आगलागी हुदाँ दुईतले घर जलेर ध्वस्त भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय बाजी भुलको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो।

प्रहरीका अनुसार के.आई. सिंह गाउँपालिका–३, झिगा बस्तीमा आइतबार बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। बिहान ९:३० बजे खाना पकाउने क्रममा अचानक आगो लाग्दा स्थानीय बाजी भुलको दुई तले ढुङ्गा–माटोको घर जलेर नष्ट भएको प्रहरीले जनाएको हो।

आगलागीका कारण घरभित्र रहेका १० बोरा धान, लत्ताकपडा, काठ, भाँडावर्तन, फर्निचर लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट मानवीय तथा चौपायामा कुनै क्षति नभए पनि करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कुलवीर बोहराको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको छ । हाल पीडित बाजी भुलको परिवार छिमेकीको घरमा बसेको छ ।

घटनास्थल प्रहरी चौकी वायलबाट करिब ९ किलोमिटर उत्तरतर्फ पर्छ । स्थानीय प्रशासनले पीडित परिवारलाई राहत उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ ।