April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रजिअ जोशी घरमै पुगेर दिए अपाङ्गता भएकालाई नागरिकता

डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका छन् । बोगटान फुड्सिल गाउँपालिका–५ र ७ नम्बर वडामा पुगेर प्रजिअ जोशीले अपाङ्गता भएका व्यक्तिलाई उनीहरूकै घरमा पुगेर नागरिकता वितरण गरेका हुन ।

शारीरिक रूपमा पूर्ण अशक्त ब्यक्तीहरू नागरिकता लिन जिल्ला प्रशासन कार्यालय सिलगढीसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको प्रजिअ जोशीले बताए ।

डोटीको दक्षिण क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् ।

‘हामीले एक मानसिक तथा शारीरिक र एक शारीरिक रूपमा अशक्तलाई नागरिकता उपलब्ध गराएका छौँ । उनले भने, उहाँहरूले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको रहेछ ।’ 

राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट कुनै पनि नागरिक कुनै कारणले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ उनिहरुको शारीरिक र आर्थिक समस्यालाई मध्यनजर गरी घरमै नागरिकता दिइएको प्रजिअ जोशीले बताए ।

जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही त्यस्ता व्यक्तिहरू भएमा घरमै गएर नागरिकता उपलब्ध गराउने प्रजिअ जोशीले बताए । बोगटान फुड्सिल गाउँपालिका– ५ उपल्लागाउँका सुरेश बोहराले घरमै नागरिकता पाउँदा खुसी व्यक्त गरे ।  

गाउँपालिकाको सहजीकरणमा वडाबाट कागजात बनाएर जिल्ला प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । 

नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरिएको उनले बताएका छन् । 

नागरिकता प्रदान गर्ने टोलीमा प्रमुख जिल्ला अधिकारी जोशी, गाउँपालिका अध्यक्ष गड्सिला, उपाध्यक्ष बिष्ना बम, जिल्ला प्रहरी प्रमुख बिनोद शर्मा लगाएतको सहभागिता रहेका थियो ।