प्रतिनिधि सभाको बैठक बस्दै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभामाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुतगरी आजै पारित गर्ने सदनको तयारी रहेको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेका थिए ।
प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।
साउन २३ गते टिआरसी विधेयका सम्बन्धमा गठित राजनीतिक कार्यदलले प्रमुख दलका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको थियो।
तीन दलका शीर्ष नेताहरू; प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधेयक यही अधिवेशनमा पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।





प्रतिकृया दिनुहोस्