बंगलादेशमा बन्यो युनुसको नेतृत्वमा अन्तरिम सरकार

ढाका । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ ।
आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थी नेताहरू र रास्ट्रपति मुहम्मद शहाबुद्दीनबीचको बैठकपछि उक्त निर्णय भएको हो । बैठकमा तीनवटै सशस्त्र सुरक्षा बलका प्रमुखहरूको समेत उपस्थिति थियो ।
शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको समाचारमा उल्लेख छ ।
राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताए ।
शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट राष्ट्रपति मुहम्मद शहाबुद्दीनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका थिए ।
राष्ट्रपति शहाबुद्दीनले तीनै सुरक्षा निकाय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थीसँग भएको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेका थिए ।
विद्यार्थीहरूले नोबल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिनुपर्ने माग पनि अघि सारेका थिए । अन्तरिम सरकार गठनका लागि राष्ट्रपति र आन्दोलनको अगुवाइ गरेका विद्यार्थी नेताहरूबीच मंगलबार साँझ वार्ता भएको थियो । उक्त वार्ताले युनुसको नेतृत्वमा सरकार बन्ने निश्चित गरेको हो ।





लेखकको सम्वन्धमा