January 15, 2026, Thursday
२०८२ माघ २

‘इजरायली आक्रमण’ मा हमासका शीर्ष नेता मारिए

कायरो । ‘इजरायलको आक्रमण’बाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका हुन।

बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको हमलामा उनी मारिएको हमासले जनाएको छ ।

हमासका अनुसार कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण कार्यक्रममा सहभागी हुन तेहरान पुगेका थिए ।

इरानको ‘इस्लामिक रिभोल्युशनरी गार्ड’ले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ । हानियाका साथ उनका एक अङ्गरक्षक पनि मारिएको जनाइएको छ ।

इस्माइल हानिया हमासको पोलिटिकल ब्यूरो प्रमुख थिए । उनी प्यालेस्टिनी अथोरिटीको १०औँ सरकारका प्रधानमन्त्री थिए । अबू अल अब्द उपनाम रहेका उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो ।

इजरायलले हानियालाई सन् १९८९ मा तीन वर्षका लागि कैद गरेको थियो । त्यसपछि उनलाई हमासका केही नेताका साथ निर्वासित गरिएको थियो । निर्वासन पूरा भएपछि उनी गाजा फर्किएका थिए ।

सन् १९९७ मा उनलाई हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासीनको कार्यालयका प्रमुख नियुक्त गरिएको थियो । त्यसपछि उनको राजनीतिक हैसियत बढेको थियो ।