February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

झुलाघाटबाट सुरू भयो एमालेको मध्यपहाडी लोकमार्ग अभियान

बैतडी । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आरम्भ भएको छ । बिहिबार झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यात्राको शुभारम्भ गरेका हुन ।

यससँगै एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा गर्नेछ । बिहीबार बिहानबाट सुरू भएको अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिने छ। झन्डै २ हजार किलोमिटर लामो यात्रा छिचोल्न हिँडेको एमालेले राजमार्गका ४९ बढी ठाउँमा सानाठूला सभाको आयोजना गर्नेछ।

झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा पुस १ गते सकिने अध्यक्ष ओलीले बताए । उनले सकारात्मक परिवर्तनका लागि एमालेले यात्राको सुरुवात गरेको बताए ।

‘अहिलेको सरकारीको अकर्मण्यता, अहिले देशको ओरालो लागेको अर्थतन्त्र र राजनीतिक अस्थिरता हटाउन यो अभियानले महत्वपूर्ण योगदान पु-याउनेछ’ उनले भने, ‘देशमा भएको राजनीतिक बेथिति, अस्थिरता हटाउन र राष्ट्रिय शक्ति निर्माणमा जागरण पैदा गर्न संकल्प यात्राको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्छु ।’

झुलाघाटमा आयोजित उद्घाटन सभामा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानले राजक र अस्थिर राजनीतिकलाई सही बाटोमा ल्याउने विश्वास लिएको बताए।

अभियानका लागि पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलगायतका पार्टी पदाधिकारी र केन्द्रीय नेताहरू बैतडी पुगेका थिए ।

अभियानमा ५० लाख जनतासँग साक्षात्कार गर्ने एमालेको योजना छ । अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीहरुसँग छलफल, किसानहरुसँग अन्तरक्रिया, कृषि वैज्ञानिकहरुसँग संवाद, विकास कार्यहरुको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट गरिने छ ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरुको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरुको संकलन गर्नु पनि अभियानको उद्देश्य रहेको एमालेको भनाइ छ । मध्यपहाडी लोकमार्गले करिब २६ पहाडी जिल्लालाई जोडेको छ ।