April 18, 2026, Saturday
२०८३ बैशाख ५

रहेनन् दिपायलकी ‘कटि दिदी’ ट्रकको ठक्करबाट मृत्यु

धनगढी । कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिदाँ डोटीकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको ट्रकले ठक्कर दिदाँ भगवती रोस्याराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ ख ९६५० ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी डोटी शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

लामो समय देखी दिपायलमा रहेकी ६० वर्षीय रोस्यारा डोटीमा ‘कटी दिदी’ को नामले परिचित थिइन् । रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएर दु:ख व्यक्त गरिरहेका छन् ।

ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका-१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । आफन्त आउन बितिक्कै बुझाउने सूचना अधिकारी चन्दले बताए ।