February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयनको शैली फेरेका छौं : मन्त्री देउवा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकारले बजेट कार्यान्वयनको शैली फेरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री देउवाले यस्तो बताएका हुन ।

अहिले हाम्रो बिकासको अबस्था हेर्दा असारमा बजेट आउने र फागुनमा ठेक्कामा जाने परीपाटी छ, त्येसको अन्त्य गर्नका लागि रहेका छौं मन्त्री देउवाले भने, ‘योजना छनोट र बजेट ल्याउने प्रक्रियादेखि नै हामीले पूरानो शैली परिवर्तन गरेका छौं । अहिले बजेट कार्यान्वयनमा फरक शैलीमा गर्दैछौं ।’

विगतमा योजना कार्यान्वयनमा ढिलाई हुने समस्या रहेको बताउँदै उनले समयमै योजना कार्यान्वयनका लागि प्रदेश सरकार र मातहतको कार्यालय लागिपरेको बताएका छन् ।

‘अहिलेको सरकारले कुनै पनि योजना झ्यालबाट ल्याएको छैन,’ उनले भने, ‘सबै तल्लो तहबाट आएका योजना प्रदेश सरकारको बजेटमा अटाएका हुन् । अब ती योजना समयमै कार्यान्यन हुन्छन् ।’ मन्त्री देउवाले अहिलेको प्रदेश सरकार जनताले महसुस गर्ने गरी काम गरिरहेको पनि दाबी गरे ।

लामो समयसम्म योजना अलपत्र पारेर राख्ने केही निर्माण व्यवसायीका कारण समस्या आएको बताउँदै मन्त्री देउवाले यसपटक भने निवेदन दिएकै भरमा म्याद थप नगर्न मातहतका कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

मन्त्री देउवाले डडेल्धुरा जिल्लामा सधैँ राम्रो बजेट आउने तर कार्यान्वयनमा समस्या हुने गरेको बताएका छन् । ‘यो जिल्लामा सधै राम्रो बजेट आउँछ,’ उनले भने, ‘तर सधैँ बजेट फ्रिज जाने समस्या छ । यसमा कार्यान्वयन गर्ने कार्यालय र निर्माण व्यवसायी सबैभन्दा बढी दोषी छन् ।’

यस्तै मन्त्री देउवाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालय प्रमुखलाई समयमै योजना कार्यान्वयन गर्न निर्देशन दिएका छन् । खानेपानी तथा सरसफाई डिभिजन, यातायात व्यवस्था कार्यालय र पूर्वाधार विकास कार्यालयको गतिविधिबारे जानकारी लिँदै मन्त्री देउवाले चालू आर्थिक वर्षका योजना समयमै कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।