April 18, 2026, Saturday
२०८३ बैशाख ५

जंगली च्याउ खाँदा बझाङमा २ बालबालिकाको मृत्यु

बझाङ। बझाङमा जङ्गली च्याउ खाँदा २ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत मृत्यु भएको हो ।

जंगलबाट ल्याएको च्याउ खाएर जयपृथ्वी नगरपालिका–६ नौराकी पुनी कठायत र उनका दुई बालबालिका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल बझाङमा भर्ना गरिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरेको थियो। डडेल्धुरा पुर्‍याउन नपाउदै उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

डिएसपी भण्डारीका अनुसार सुदीपलाई पनि धनगढी ल्याउने क्रममा बिहिबार राती नै बाटोमा मृत्यु भएको हो। आमा पुनी कठायतको भने उपचार जारी छ।