April 17, 2026, Friday
२०८३ बैशाख ४

बैतडीमा वनभोज गएका युवक मृत भेटिए, १२ जनामाथि अनुसन्धान अघि बढाइयो

धनगढी । बैतडीमा वनभोज गएका युवक मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिका–१० का २५ वर्षीय जीवन बुडाल शनिबार राति मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले शनिबार साथीहरुसँगै वनभोज गएका बुडाल राति दशरथचन्द नगरपालिका–६ शेरास्थित चौलानी नदीको बगरमा मृत अवस्थामा भेटिएको जानकारी दिएका हुन ।

प्रहरी नायब उपरीक्षक शाहीका अनुसार नदीको दुई किनार भएर बग्ने बीचको बगरमा बुडालको शव भेटिएको हो । बुडालको शव परीक्षणका लागि आइतबार जिल्ला अस्पतालमा राखिएको डीएसपी शाहीले बताए ।

बुडाल राष्ट्रिय अनुसन्धान विभागमा सहायक सूचकका रुपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ । बझाङमा कार्यरत उनी विदामा घर आएका बेला शनिबार साथीहरुसँग वनभोज खान गएका थिए ।

यसैबीच बुडाल मृत भेटिएको घटनामा शंकास्पद १२ जनामाथि अनुसन्धान थालिएको छ । बुडालसँगै वनभोज खान गएकामध्येका साथी, आफन्त र नातागोता पर्ने १२ जनामाथि अनुसन्धान अघि बढाइएको डीएसपी शाहीले बताए । उनीहरुलाई निगरानीमा राखेर अनुसन्धान जारी रहेको छ ।