April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

यतिको विमान दुर्घटनाग्रस्त : ५ भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रु सवार

काठमाडौँ । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ५ भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।

आइतबार बिहान १०:३३ मिनेटमा काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। जहाज ११ बजे दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। 

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु थिए । जसमध्ये ३ बालबालिका र ३ शिशुसहित ६४ वयष्क थिए ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ । अहिले पनि उद्धारकार्य जारी रहेको छ । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।

दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाज तीन टुक्रा भएको पाइएको छ ।  प्रमुख जिल्ला अधिकारी केसीका अनुसार घटनास्थलमा जहाज तीन टुक्रामा परिणत भएको देखिएको छ । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन ।

दुर्घटनापछि जहाजमा लागेको आगो नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी केसीले बताए। स्थानीयहरूले भने दुर्घटनास्थलबाट आगोको मुस्लो निस्किरहेको भिडियो सार्वजनिक गरेका छन् ।