April 18, 2026, Saturday
२०८३ बैशाख ५

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो,९ जना बेपत्ता

धनगढी । अछाममा अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । थप ९ जना बेपत्ता छन् ।

अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको हो । उनका अनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।

उक्त पहिरोमा पुरिएर थप तीनजना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ । पहिरो पुरिएकामध्ये कमलवजार नगरपालिका –६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका आठजनाको शव फेला परेको छ ।

तुर्माखाँद गाउँपालिका, ५ नाडास्थित काडाचौरमा समेत पहिरोमा परी ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको छ । थप पाँचजना पहिरोमै पुरिएका छन् । शनिबार बिहान करिव ४ बजे पहिरो खस्दा तुर्माखादका स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीका घर पुरिँदा उनीहरूको ज्यान गएको छ ।

स्थानीय वासिन्दाले ४२ वर्षिय नेत्रबहादुर शाही, उनकी ३५ वर्षिष श्रीमती मनिषा शाही, १६ वर्षिया छोरी बिमला शाही र १६ वर्षाया भतिजी जानकी शाहीको शव पहिरोबाट निकालिएको छ । बिमला र जानकी स्थानीय कालिकाश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । मीनबहादुर शाहीकी छोरी जानकी बिमलासँग सुत्न आएको समयमा पहिरोमा परेकी हुन् ।

सोही पहिरोमा परेर रितबहादुर शाहीका दुई नातिनी, २ बुहारी र १ छोरासमेत पुरिएका छन् । पहिरोमा पुरिएका मध्ये रितबहादुरकी नातिनीद्वय १ वर्षीया मेलिना शाही, ३ वर्षीया करिष्मा, बुहारीद्वय २० वर्षीया कमला शाही, २३ वर्षीया भावना शाही र १२ वर्षीया छोरा सुन्दर शाही छन् । उनीहरूको उद्धारका लागि स्थानीय वासिन्दा सक्रिय भए पनि निरन्तरको वर्षाका कारण कठिनाइ भइरहेको स्थानीय प्रताप शाहीले जानकारी दिए ।