April 18, 2026, Saturday
२०८३ बैशाख ५

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

अछाम : पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। प्रहरी अनुसार अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ स्थित भुलुमा गए राति अमर विष्टको घर पहिरोले पुरिएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उद्धार गरिएको छ।

‘पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘तीन जनाको मृत्यु भएको छ भने एक घाइतेको उद्धार गरेका छौं।’ ६५ वर्षीया नैना विष्ट गम्भीर घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

करिब ४५ वर्षीया हरिकला विष्ट, २५ वर्षका वीरेन्द्र विष्ट र १५ वर्षका संविधान विष्टको पहिरोले घर पुरिँदा मृत्यु भएको प्रनाउ डाँगीले जानकारी दिए। उनीहरू एकै घरपरिवारका हुन्।

गए राति घरमा सुतिरहेका उनीहरूलाई पहिरोले पुरेको थियो। घटनास्थलमा प्रहरी र स्थानीयबासी पुगेका छन्। पहिरोले घर पुरिँदा ८ बाख्रा पनि मरेका छन्।

गृहमन्त्री बालकृष्ण खाँणले पहिरो र त्यसले गरेको क्षतिबारे जानकारी लिएका छन् । अछामका प्रजिअ विश्वराज मरासिनी र डिएसपी नारायण डागीलाई टेलिफोन गरेर गृहमन्त्रीले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसर बाकी नराख्न निर्देशन दिए । 

आवश्यक सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै घाइतेको उपचार र तत्कालको राहत उपलब्ध  गराउन मन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई भनेका छन् ।