April 18, 2026, Saturday
२०८३ बैशाख ५

जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका कुँवर निर्वाचित

अछाम : जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति अछामको शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे । नवनिर्वाचित जिसस प्रमुख कुँवर अछाम साँफेवगर नगरपालिका–८ बाट ३ सय ८५ मत प्राप्त गरी नगरसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही निर्वाचित भएकी छन् । उनले पनि १२ मत प्राप्त गर्दै एमाले उम्मेदवार पुतलीदेवी रावललाई पछि पारेकी हुन् । दानमती पञ्चदेवल नगरपालिका–४ बाट ५ सय ८० मत सहित नगरसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

जिल्ला समन्वय समितिका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । समन्वय समिति सदस्यहरुमा कांग्रेसका तर्फबाट नरेन्द्र कुँवर, लक्ष्मी सुवर्णकार, द्वारिका उपाध्याय, पूर्ण रावलले र चक्राकुमारी रावल गरी पाँच जना निर्वाचित भएका छन् । माओवादीबाट प्रनाथ विक र एकीकृत समाजवादीबाट सीता भण्डारी निर्वाचित भएका छन् ।

१० स्थानीय तह रहेको अछाममा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर ११, एमालेले ६, माओवादीले दुई र समाजवादीले एक पद जितेको छ ।