प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

धनगढी असार १४(ई-रैवार)
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षको असहमतीकाबीच बहुमतबाट पारित गरिएको छ । सोमबार बिहान बसेको प्रदेश सभाको बैठकबाट सरकारले ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट बहुमतले पारित भएको हो । बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहले असहमति राख्दै आएका छन् ।
गत असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले बजेट प्रस्तुत गरेका थिए । बजेट माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट विरोध भएपनि अन्ततः बहुमतले पारित गरिएको छ ।
सत्ता पक्षकै सांसदहरुले ‘विचौलियाहरुसँगको सेटिङमा ल्याइएको बजेट’ले प्रदेशको समृद्धि हासिल नगर्ने भन्दै संशोधनको माग गरेका थिए ।
सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शाहले सोमबार उक्त आरोपबारे गम्भीर असहमति रहेको बताएका छन् । ‘विचौलिया राखेर बजेट ल्याइएको भन्ने विषयमा मेरो गम्भीर असहमति छ’ शाहले भने, ‘कसैले स–प्रमाण ल्याएमा त्यस्ता कार्यक्रम र योजना रोक्का र खारेज गर्न म प्रतिबद्ध छु । अहिलेको बजेट कानूनी आधार तय गरेर आएको छ ।’
शाहले वार्षिक कार्यक्रम पुस्तिकामा त्रुटीका कारण दोहोरो परेका, नाम र ठेगाना फरक परेका योजनाहरु सच्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।





प्रतिकृया दिनुहोस्