June 20, 2026, Saturday
२०८३ असार ६

सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगी फेला परे

धनगढी, वैशाख १४ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो।

निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु आर्थिक वर्षमा करिब १८६ जना औलोरोगका बिरामी फेला परेका छन्। औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहेपनि यहाँका छ जिल्लामा अझै औलो रोग पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउछन्।

प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीकाअनुसार औलोका बिरामी सबैभन्दा बढी प्रदेश राजधानीसमेत रहेको कैलाली जिल्लामा फेला परेका छन्।

उनका अनुसार कैलालीमा चालु आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका हुन्। जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको दाबी छ।

चालु आर्थिक वर्षमा ११५ आयातित औलोका बिरामी रहेको जनाइएको छ। प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा ३२० औलोका बिरामी थिए। जसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए। प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएको छ। यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिकरुपमा कम हुँदै गएको छ। रासस