एकै विद्यालयका १६ जना विद्यार्थीमा देखियो कोरोना संक्रमण

अछाम, वैशाख १४ (ई-रैवार)
एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो ।
गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्तबहादुर रावलका अनुसार यो विद्यालयका २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएको थियो। १० जना छात्र र ६ छात्रामा कोरोना पोजेटिभ देखिएको हो।
गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रावलले विद्यालयका १० जना शिक्षकको पनि स्वाब लिइएको बताएका छन् । विद्यार्थीमा कोरोना देखिएपछि शिक्षकहरूको पनि स्वाब संकलन गरिएको हो।
विद्यार्थीहरुमा एक सातादेखि टाउको दुख्ने, खोकी लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखिएको थियो । निरीक्षक रावलले संक्रमण देखिएका सबै विद्यार्थी होम आइसोलेसनमा रहेको बताएका छन्। सोमबारदेखि नै विद्यालय बन्द गरिएको छ।





प्रतिकृया दिनुहोस्