April 18, 2026, Saturday
२०८३ बैशाख ५

बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने

बैतडी, मंसिर ६ (ई–रैवार) 

बैतडीबाट भारतसँग सीमा जोडिएको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ। मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबार सम्म नाका खुला हुने भएको हो ।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्ने तयारी भएको जानकारी दिए ।  उनले भने ‘लामो समयदेखि पेन्सन बुझ्न नपाएका नागरिकका लागि हामीले नाका खोल्ने तयारी गरेका हौं। पेन्सनधारी नागरिकलाई पेन्सन बुझ्न सजिलो होस् भनेर दुवै देशका स्थानीय प्रशासनको सहजीकरणमा नाका खोल्ने तयारी भएको हो।’

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।
पेन्सनधारी नागरिकहरुले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन्। पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए।

बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन्। पाँच दिनभित्र पेन्सन बुझ्नका लागि नाका खोलिन लागेको हो। नाकामा पेन्सनधारीहरुले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्नेछ।