April 17, 2026, Friday
२०८३ बैशाख ४

मन्त्रिपरिषद्‍ पुनर्गठन : विष्णु पौडेल अर्थमन्त्री, रक्षाबाट पोखरेल हटे (सूचीसहित)

काठमाडौं, असोज २८ (ई-रैवार) 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।

नयाँ मन्त्रिपरिषद्‍मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए ।

नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ ।

यस्तै सहरी विकासको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । यो मन्त्रालय भौतिक पर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्वाङले सम्हालेका थिए ।

योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानत: मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।