चारदिन देखि सम्झनाको शव उठेन

जगत खड्का
बझाङ, असोज ११ (ई–रैवार)
मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्।
सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका लागि संसार छाडेकी छन्। बुधबार दिउँसो करिब १२ बजेको थियो। परिवारका तीन बहिनी र हजुरआमा (बज्यै)सँगै बसेर दिउँसोको खाना खाए। यो खाना नै उनको परिवारसँगै बसेर खाएको अन्तिम खाना भयो। घरमा खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन। नजिकैको मन्दिरमा लगेर उनको बलात्कार पछि हत्या भयो।
उनको हत्या भएको चार पुगेको छ तर अहिलेसम्म आफन्तले शव बुझ्न मानेका छैनन्। सम्झनाको शव चारदिनदेखि जिल्ला अस्पतालमा राखिएको छ। पोष्टमार्टम गरिएको भए पनि हत्यारा पत्ता नलगाएर कारबाही नहुँदासम्म शव नउठाउने भन्दै पीडित परिवारले स्थानीय प्रशासनमा दबाब दिँदै आएका छन्।
सम्झनाले घरबाट बोकेर गएको डोको नाम्लो र हँसिया सिम देवताको मन्दिर नजिक भेटिएको थियो। मन्दिरभित्र बलात्कारपछि धारीलो हतियारले टाउको र शरीरमा हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। सम्झनाले कानमा लगाएको पाँच आना सुनका गहनासमेत लुटिएको प्रहरीले बताएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएको छ।
नागरिक दैनिकबाट





प्रतिकृया दिनुहोस्