April 18, 2026, Saturday
२०८३ बैशाख ५

असोज १ देखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी

धनगढी, भदौ २५ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा असोज १ देखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी गएको छ । आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी गरेका हुन् ।

सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला सुदूरपश्चिमका यातायात व्यवसायीले भने असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालनको तयारी गरेका छन्।

सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले असोज १ गतेदेखि सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गर्ने तयारी भईरहेको बताएका छन । उनले लामो तथा छोटो दूरीका यातायात चलाउने केन्द्रमा समेत तयारी भईरहेको बताउँदै सुदूरपश्चिम प्रदेशमा पनि सोही अनुसार यातायात सञ्चालन हुने बताए ।

कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण सूरपश्चिमका यातायात व्यवसायी मारमा परेका छन् । गत चैत ११ गतेदेखि जारी १ सय २० दिन लामो लकडाउन र अहिले स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण यातायात व्यवसायी मारमा परेका हुन् ।

कर्णाली रिभर साईड यातायात प्रालीका अध्यक्ष धिरज शाहीले ६ महिनादेखि सार्वजनिक यातायात ठप्प भएपछि सयौँ व्यवसायीसंगै हजारौं मजदुर पनि समस्यामा परेको बताए । कतिपय यातायात व्यवसायीहरुले आफ्नै लगानीमा सवरी संञ्चालन गरेको भएपनि धेरै जसोले भने बैंकबाट ऋण निकालेर र किस्तामा बसहरु खरिद गरेका छन्,’ उनले भने, ‘सार्वजनिक सवारी साधन नियमित रुपमा संञ्चालन भएपछि मात्रै बैंकको ब्याज र गाडीको किस्ता तीर्न सहज हुनेछ।’

कैलालीमा भने जिल्ला भित्र मात्रै जोरविजोर प्रणाली लागु गरेर सार्वजनिक सवारी साधान संञ्चालन गर्न अनुमती दिईएको छ । ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने गरि सार्वजनिक सवारी संञ्चालन गर्न पाईने भनिएको हो। तर जोरविजोर प्रणाली लागु भएपछि कम सवारी साधान चल्ने भएका कारण भिडभाड भने बढी हुने गरेको छ ।