ड्यूटीमा मृत्यु भएका प्रहरी जवानको हत्या गरिएको परिवारको दावी

महेन्द्रनगर, भदौ २१ (ई-रैवार)
ड्यूटीमा रहेको बेला मृत्यु भएका प्रहरी जवानको हत्या भएको आफन्तले दावी गरेका छन् । कञ्चनपुरको बंकस्थित दंगा प्रहरी गणमा तैनाथ र ड्यूटीमा रहेको बेला मृत्यु भएका प्रहरी जवानको हत्या भएको आफन्तले दावी गरेका हुन् ।
ड्यूटीमा रहेको बेला मृत्यु भएका प्रहरी जवानको हत्या भएको हुन सक्ने भन्दै घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्ने माग राख्दैै शब पोस्टमार्टम गर्न नदिइएको मृतकका भाई इन्द्र ऐरले बताए ।
मृतकको शरीरमा बालुवा लागेको, मुखबाट रगत आएको, टाउकोको पछाडीपट्टि चोट लागेको र २२ बर्षको युवकलाई सामान्य अवस्थामा हृदयघात हुन नसक्ने भन्दै पोस्टमार्टम गर्न नदिने मृतकका भाई ऐरले बताए । उनले भने, ‘शरीरमा बालुवा लागेको र मुखबाट रगत आएको छ, अनुसन्धान नभएसम्म पोस्टमार्टम गर्न दिदैनौ ।’
सँगै ड्यूटीमा रहेका अन्य प्रहरी जवानसँंग तत्काल कुरा गर्न खोज्दा प्रहरीले कुरा गर्न नदिएर १४ घण्टा पछि मात्रै भेटन दिईएको उनले बताए ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–२ घर भएका बर्ष २२ का प्रहरी जवान सुरेन्द्रकुमार ऐर शुक्रबार राति १२ बजे गणको ५ नम्बर पोष्टमा ड्यूटीमा खटिएको बेला एक्कासी ढलेर बेहोस प्रहरीको भनाई छ । उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा शनिबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । हृदयघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्