सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार १ सय ३४ पुग्यो

धनगढी, भदौ १९ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालमा भएको परीक्षणमा ७ जना संक्रमित थपिएका हुन । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ३४ पुगेको छ ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४ सय ६४ जनाको कोरोना परीक्षण १ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– ५ का १ जनामा कोरोना पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ सय ५९ जनाको कोरोना परीक्षण भएकोमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिएका छन ।
भुसालका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा बैतडीको पाटन नगरपालिकाका १ जना, बझाङको मष्ठा गाउँपालिकाका १ र दार्चुलाको मार्माका १ जना रहेका छन् ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा शुक्रबार १ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ। प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार डोटी र अछाम जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज श्रेष्ठले दिएको जानकारी अनुसार डोटीको पूर्वीचौकी गाउँपालिकाका १ पुरुष, आदर्श गाउँपालिका वडा नम्वर ३ का १ महिला र अछामको मेल्लेख गाउँपालिका वडा नम्वर १ का १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।





प्रतिकृया दिनुहोस्