कोरोनाले विश्वमा ७ लाख ७५ हजारको मृत्यु, नेपालमा १ सय २० को ज्यान गयो

काठमाडौं, भदौ ४ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ७५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वका २ सय १६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म कोरोनाले विश्वमा ७ लाख ७५ हजार ८ सय ९३ को मृत्यु भइसकेको हो ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म संक्रमितको संख्या २ करोड १९ लाख ८९ हजार ३ सय ६६ पुगेको तथ्यांकमा उल्लेख छ ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ज्यान जानेको संख्या ५३ हजार ९ सय ९४ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८सय २२ पुगेको छ । हाल ६ लाख ८५ हजार २ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् ।
बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ६९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् । बुधबार रेकर्ड अनुसार ५९ हजार ३ सय ६५ जनालाई निको भएको छ । अहिलेसम्म २० लाख ९६ हजार ६८ जनालाई निको भएको छ ।
बुधबार ९ सय ७९ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान जानेको संख्या ५३ हजार ९ सय ९४ पुगेको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा बुधबार १३ हजार १ सय ६५ जना संक्रमित थपिँदा ३ सय ४६ जनाको ज्यान गएको छ । निको हुनेको संख्या ९ हजार ११ रहेको छ ।
तमिलनाडुमा ५ हजार ७ सय ९५ संक्रमित थपिँदा ११६ जनाको ज्यान गयो । राजधानी दिल्लीमा १ हर ३ सय ९८ जना संक्रमित थपिँदा ९ जनाको ज्यान गएको थियो ।
यसैबीच, नेपालमा कोरोनाका कारण हालसम्म १ सय २० जनाको मृत्यु भइससकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
लकडाउन खुुकुलो भएसँगै कोरोना संक्रमणको दर बढेको छ । संक्रमण फैलिने क्रम अधिक भएका स्थानमा स्थानीय सरकारले निषेधाज्ञा जारी गरेका छन् ।
प्रतिकृया दिनुहोस्