संक्रमणको जोखिम बढेपछि सामूहिक रूपमा गौरा तथा तीज पर्व मनाउन नपाइने

धनगढी, भदौ २ (ई-रैवार)
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सामूहिक रूपमा गौरा तथा तीज पर्व मनाउन नपाइने भएको छ । कैलालीमा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सामूहिक रूपमा गौरा तथा तीज पर्व मनाउन नदिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले सामूहिक रूपमा गौरा तथा तीज मनाउँदा संक्रमण फैलिने जोखिम रहेकाले कैलालीका नागरिकलाई घरभित्रै चाडपर्व मनाउन आग्रह गरेको छ । “जनस्वास्थ्यका मापदण्ड पूरा गरी घरभित्रै चाडपर्व मनाउन कैलालीका बासिन्दालाई आग्रह गर्छु,” प्रमुख जिल्ला अधिकारी बोहराले भने, “कैलालीका सबै स्थानीय तहले नागरिकस्तरमा भीडभाड नगर्न, भेला नगर्न निर्देशन गरेर संक्रमण फैलनबाट जोगिनुपर्छ ।”
बैठकले मन्त्रिपरिषद्को बैठकले गरेको होटल तथा रेष्टुराँबाट तयार गरिएका खाद्य परिकार लैजाने (टेक अवे) सेवा मात्र सञ्चालन गर्ने निर्णय कार्यान्वयन भए– नभएको अनुगमन गर्ने निर्णय गरेको छ । निर्णय उल्लंघन गरिएको पाइए संक्रमण रोग ऐन–२०२० अनुसार कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए ।
बैठकले भारतबाट नेपाल फर्कने नेपालीलाई १० दिनसम्म कैलालीमा होल्डिङ सेन्टरमा राख्ने स्थान छनोटका लागि जिल्लास्तरीय अनुगमन समितिलाई पाँच दिनको समयावधि दिएको छ । भारतबाट आउने नागरिकलाई सिधै घर पठाउँदा संक्रमणको जोखिम भएपछि होल्डिङ सेन्टर बनाउने तयारी थालिएको हो ।






प्रतिकृया दिनुहोस्