April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा आज थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो

 

धनगढी, साउन  ३२ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, ह्याम्पस अस्पताल काठमाडौँ र शिक्षण अस्पतालमा भएको परीक्षणमा आज २७ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १३ सहित २४ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ५ सय ६३ जनाको कोरोना परीक्षण भएको बताउँदै कैलालीका १३ र कञ्चनपुरका ११ जनामा संक्रमण देखिएको जानकारी दिएका छन ।

कैलालीको टीकापुर नगरपालिकाका ४ पुरुष र २ महिला गरी ६ जना धनगढी उप–महानगरपालिकाका २ पुरुष र एक महिला गरी ३ जना, भजनी नगरपालिकाका २ पुरुष, गोदावरी नगरपालिकाका एक पुरुष र एक महिला गरी २ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठले कञ्चनपुरको वेदकोट नगरपालिकाका ६ महिला र ३ पुरुष गरी ९ जना र पुर्नवास नगरपालिका एक महिला र एक पुरुष गरी २ जनामा संक्रमण देखिएको बताए । उता काठमाडौँमा भएको परीक्षणमा पनि कैलाली र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर प्रसाद गौतमले ह्याम्पस अस्पताल काठमाडौँको प्रयोगशालामा कञ्चनपुरका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका २ गरी ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। प्रदेशमा संक्रमितको संख्या ५ हजार २१ पुगेको छ। सबैभन्दा बढि कैलालीमा १ हजार ३ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डोटीमा ७ सय ९५, अछाममा ७ सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डडेल्धुराका ३ सय १३, बैतडीका ३ सय १, बझाङका २ सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन् भने सुदूरपश्चिम प्रदेशमा १२ जनाको मृत्यु भएको छ ।