डीआईजी सहित नेपाल प्रहरी र सशस्त्रका ८ सय ४७ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३२ (ई-रैवार)
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकलाई कोरोना भाइरसको संक्रमण भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण भएको हो ।
स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा शनिबार बिहान आएको रिपोर्टमा डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिए ।
पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचरीमा संक्रमण बढिरहेको छ । आइतबार बिहान १० बजेसम्म ६ सय २० जनामा कोभिड–१९ देखिएको एसएसपी कडायतले बताए । यद्यपि उनको अवस्था सामान्य छ ।
एसएसपी कडायतका अनुसार संक्रमितमध्ये २ सय ४० जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको कडायतले बताए । सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका १ सय ५५ जनामा संक्रमण देखिएको छ । संक्रमित प्रहरीहरु डिस्चार्ज हुने क्रम पनि बढेको छ ।
नेपाल प्रहरी र सशस्त्रका ८ सय ४७ जनामा कोरोना संक्रमण
नेपालका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपाल प्रहरीका ६ सय २० र सशस्त्र प्रहरीका २ सय २७ जना गरी ८ सय ४७ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २ सय ४० जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १ सय २७ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ३ सय ८० जना सक्रिय संक्रमित छन् ।
जसमध्ये प्रहरी प्रधान कार्यालयकै १ सय ५५, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २३, प्रदेश २ का ४६, वाग्मती प्रदेशका ४०, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५२, कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।
यस्तै सशस्त्र प्रहरीतर्फ ९३ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३८, प्रदेश २ का ३७ , वाग्मती प्रदेशका १६ र प्रदेश ५ का २ जना संक्रमित छन् ।





प्रतिकृया दिनुहोस्