भारत सरकारको तर्फबाट नेपाली सेनालाई १० थान भेन्टिलेटर हस्तान्तरण

काठमाडौं,साउन २५ (ई-रैवार)
भारत सरकारले नेपाली सेनालाई १० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
भारतीय सेनाका तर्फबाट उपहारस्वरुप पठाइएका १० थान भेन्टिलेटर राजदुत क्वात्राले सैनिक मुख्यालय भद्रकालीमा प्रधानसेनापति थापालाई हस्तान्तरण गरेका छन् ।
भारत आफै पनि कोरोना संक्रमणको चपेटामा छ । आफै समस्यामा परिरहेका बेला पनि गरेको सहयोगको लागि नेपाली सेनाले भारत सरकार तथा भारतीय सेनालाई धन्यवाद दिएको छ ।
हस्तान्तरण कार्यक्रममा राजदुत क्वात्राले कोभीड १९ बिरुद्धको लडाँईमा विजय प्राप्त गर्न नेपाली जनतालाई सबै आवश्यक सहयोग पुर्याउन भारत प्रतिबद्ध रहेको बताएका थिए । नेपाली सेनाले प्राप्त गरेका भेन्टिलेटर एडभान्स एन्भेसिस रेस्परेटरी सपोर्टका लागि प्रयोग गर्न मिल्ने गरि डिजाइन गरिएको बताइएको छ ।
यसअघी पनि भारत सरकारका तर्फबाट राजदुत क्वात्राले ३० हजार पीसीआर कीटका साथै २३ टन औषधी सहितका स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए ।





प्रतिकृया दिनुहोस्