३४ दिनमा २९ हजार बढी नेपाली स्वेदश फिर्ता

काठमाडौ, श्रावण ४ (ई-रैवार)
विदेशमा अलपत्र परेका २९ हजार बढी नेपाली हवाई मार्गबाट स्वेदश फिर्ता भएका छन । उडानबाटै कारोना बाहेक अन्य विभिन्न कारणले विदेशमा मृत्यु भएका १ सय ७३ जना नेपाली नागरिकको शव पनि ल्याइएको छ ।
कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न भएको असहज परिस्थितीका कारण ३४ दिनमा विदेशमा अलपत्र परेका मध्ये शुक्रबार सम्म हवाई मार्गबाट २९ हजार ७ सय ८९ नेपाली स्वदेश फर्केका हुन ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार सरकारले जेठ २९ देखि खुला गरेको अलपत्र नेपालीलाई चार्टर उडानमार्फत उद्धार गर्ने क्रममा शुक्रबारसम्म भएका १ सय ९२ वटा उडानबाट २९ हजार ७ सय ८९ नेपाली काठमाडौं ओर्लिएका हुन ।
अफगानस्थान, अस्ट्रेलिया, ओमन, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, यूएई, साउदी अरेबिया, सिंगापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका, बेलायत, इजरायल, चीन, टर्की र फिलिपिन्सबाट नेपाल आएको सीसीएमसीले जनाएको छ ।
नेपालीको उद्धार भएका मुलुकमध्ये यूएईबाट ६८ सय ७२, कुवेतबाट ५५ सय ४९, साउदी अरेबियाबाट ४७ सय ८७, मलेसियाबाट ३२ सय २६ र कतारबाट ३ हजार २७ नेपालीलाई स्वदेश फर्काइएको थियो । श्रम गन्तव्यबाहेक यहि अवधिमा अमेरिकामा अलपत्र परेका ४ सय २३, बेलायतबाट २ सय २९ र चीनबाट १ सय ५ नेपाली पनि स्वदेश फर्किएका छन । सीसीएमसीले उडानबाटै कारोना बाहेक अन्य विभिन्न कारणले विदेशमा मृत्यु भएका १ सय ७३ जना नेपाली नागरिकको शव पनि ल्याइएको जनाएको छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले चैत ९ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडान रोकेको छ । तर त्यसयता मन्त्रालयको अनुमतिबाट चार्टर र उद्धार उडानलाई अनुमति दिँदै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार चैत ११ यता शुक्रबारसम्म ४ सय ३२ वटा उडान भइसकेका छन । ती उडानबाट २९ हजार ७ सय ८९ नेपाली स्वदेश फर्केका हुन । त्यस्तै, काठमाडौंबाट १५ हजार ६ सय २५ यात्रु तथा २ सय ७७ शिशु विदेशतर्फ उडेको विमानस्थलको तथ्याङमा देखिन्छ ।
यो चार महिनाको अवधिमा हवाईजहाजबाट मेडिकल सामाग्री लगायत ६ लाख ६२ हजार किलोग्राम कार्गो भित्रिएको छ । त्यस्तै, नेपालबाट यो अवधिमा कृषिजन्य तथा अन्य ६ लाख ६० हजार किलोग्राम नेपाली उत्पादन विदेशतर्फ निर्यात भएको छ ।
प्रतिकृया दिनुहोस्