कोरोना संक्रमितको संख्या ४ हजार पुग्यो, सुदूरपश्चिममा आज थप २२ जना पुष्टि

धनगढी, साउन १ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज थप २२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ८ गरी आज २२ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा डडेल्धुराकै र्८ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ८ पुरुष र ६ महिलासहित १४ जनामा कोरोना पुष्टि भएको हो ।
कैलालीको कैलारी गाउँपालिका–४ का दुई महिला र दुई पुुरुष गरी ४ जना, कैलालीकै गोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी ३ जना, कैलालीकै धनगढी उपमहानगरपालिका–१८ का एक पुरुष र एक महिला गरी २ जना, कैलालीकै टिकापुर नगरपालिका–१ का एक पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
कञ्चनपुरको बेलकोट नगरपालिका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका–४ का एक पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका–६ एक महिलामा कोरोना पुष्टि भएको उनले बताए।
उनका अनुसार पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा एक सय ६९ जनाको कोरोना परीक्षण भएको छ।
आज २२ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा ९ सय ४१, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा ५ सय ७८, कञ्चनपुर ४ सय ६२, डडेल्धुरामा २ सय ९२, बैतडीमा २ सय ७६, बझाङमा १ सय ७० र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये एक हजार ६ सय १५ जना डिस्चार्ज भईसकेका छन भने अहिले सम्म कोरानाका कारण ८ जनाको मृत्यु भईसकेको छ ।





प्रतिकृया दिनुहोस्