April 17, 2026, Friday
२०८३ बैशाख ४

अयोध्याबारेको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले आत्मआलोचना गर्नुपर्छ – बामदेव गौतम

धनगढी,  असार ३० (ई-रैवार)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन ।

राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रमाणित विषय नभएको भन्दै नेता गौतमले यो अभिव्यक्तिबाट राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकाले फिर्ता लिँदै जनतासमक्ष आत्मआलोचना गर्नु उपयुक्त हुने बताएका हुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमले फेसबुक मार्फत बरु प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई यसबारेमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन ।

आफूलाई प्रधानमन्त्रीले यो विषय दुई वर्ष अघि नै सुनाएको पनि बताए । ‘मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो’ गौतमले भनेका छन ।

ओली हाल प्रधानमन्त्री र सत्तारुढ पार्टीका अध्यक्षसमेत भएकाले उनले चाहँदा यस विषयमा अनुसन्धान र सबै तथ्य जुटाउन सक्ने भन्दै नेता गौतमले यो विषय सावित भए पनि इतिहासकारहरुले सार्वजनिक गर्नु पर्ने बताए ।

नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष  केपी शर्मा ओलीले हिजो एक कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ ।