सडक क्षेत्रमा पर्ने संरचना भत्काउने घरधनीलाई सहुलियत

धनगढी, असार २९ (ई-रैवार)
सडक क्षेत्रमा पर्ने संरचना आफै भत्काएर सहयोग गर्ने घर धनीलाई धनगढी उप–महानगरपालिकाले सहुलियत दिन थालेको छ ।
उप–महानगरपालिकाले यस्ता घर धनीका लागि घरको नक्सा निर्माण र दर्तामा पूर्ण रुपमा छुट, अगाडीको भत्काईएको भागमा निःशुल्क रंगरोगन, सो जग्गाको एक बर्षको राजश्व छुट र नगरसभामा सम्मान तथा कदरपत्र दिने गरेको छ ।
धनगढी मेनरोडमा पर्ने संरचना भत्काएर सडक बिस्तारमा सहयोग पु¥याएका कारण स्थानीय डम्मरा भट्टले यो सहुलीयत पाउनुका साथै उनलाई चौथो नगरसभामा सम्मान समेत गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए ।
अहिले धेरै घरधनीहरु स्वस्फूर्त रुपमा सडक क्षेत्रमा पर्ने संरचना भत्काउने तयारीमा जुटेका छन् नगरप्रमुख वडले भने, यस्ता ब्यक्तिलाई सचेत नगरवासी सम्मानबाट सम्मानीत गर्ने नीति उप–महानगरपालिकाले लिएको छ । धनगढीको केन्द्र एल.एन. चौकमा प्रकाश स्वाँरले पनि सडक क्षेत्रमा पर्ने संरचना ब्यावसायीक भवनको अगाडीको भाग भत्काएका छन् । स्वाँर जस्तै धेरै घरधनीहरु संरचना भत्काउने तयारीमा रहेको नगरप्रमुख वडले बताए ।
क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयनमा सहयोग पुगोस भनेर सम्मान र सहुलियतको नीति लिएको धनगढी उप–महानगरपालिका डिभिजनल ईन्जीनियर दिजराज भट्टले बताए । उनले भने, मुख्य सडकमा मात्रै नभएर क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका सबै सडकहरु निर्माण भैरहेका र सडकको क्षेत्राधिकार भित्रका संरचना भत्काउने घर धनीलाई यही सहुलियत र सम्मान दिने निर्णय भएको छ ।
धनगढीलाई आधुनीक शहरको रुपमा विकास गर्नका लागि एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना लागु भएको छ । आयोजना अन्तरगत २३ वटा सडकहरुलाई आधुनिक बनाईदै छ । जसमा पहिलो चरणमा ७ वटा सडक बन्दैछन् । क्षेत्रीय शहरी विकास आयोजनाका र निर्माण कम्पनी कालिका कन्ट्रक्सनमा प्रतिनिधी बिच आगामी आर्थिक बर्ष २०७७÷०७८ को सुरुको महिनाबाट काम गर्ने गरि सम्झौता पनि भैसकेको छ ।





प्रतिकृया दिनुहोस्