April 18, 2026, Saturday
२०८३ बैशाख ५

अकूत सम्पत्ति कमाएको अभियोगमा वरिष्ठ इञ्जिनीयर शाक्यविरुद्ध मुद्दा

दाङ, असार २६ (ई-रैवार) 
अकूत सम्पत्ति कमाएको अभियोगमा मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत एक सिनियर डिभिजनल इञ्जिनीयर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागअन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिभिजनल इञ्जिनीयर जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।
आयोगले शाक्यका बारेमा लामो समयदेखि अनुसन्धान गरेको र सोही आधारमा अकूत सम्पत्ति कमाएको ठहर गर्दै मुद्दा दायर गरेको छ । आयोगका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर शाक्यमाथि १०५ वटा नक्कली कोटेशन बनाई पाँच करोड रूपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लागेको थियो।

सार्वजनिक सेवामा २०३४ साल साउन २ गते प्रवेश गरेका शाक्यको २०७६ असार ३१ गतेसम्मको सम्पत्तिको जाँच गरेको थियो ।
आयोगको अनुसन्धान अनुसार एक करोड ५६ लाख ६ हजार ४८० रूपैयाँ बराबरको आय वैध रहेको पाइएको छ। सोही अवधिमा शाक्यले तीन करोड ८१ लाख १० हजार ४९० रूपैयाँ बराबरको लगानी तथा खर्च गरेको पाइएको छ ।

आयोगका अनुसार वैध सम्पत्तिको तुलनामा दुई करोड २५ लाख चार हजार १० रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।
अवैध रुपमा आर्जन गरेको सम्पत्ति सिनियर डिभिजनल इञ्जिनीयर शाक्यले श्रीमती मिथिला, छोरीहरु ज्योत्सना र उन्नतिको नाममा घर जग्गा खरिद गरेको, बैंकमा जम्मा गरेका, सवारी साधन खरिद गरेको पाइएको छ।

आयोगले सिनियर डिभिजनल इञ्जिनीयर शाक्य, उनकी श्रीमती मिथिलाको नाममा रहेको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।