April 18, 2026, Saturday
२०८३ बैशाख ५

विद्यार्थीलाई घर–घरमै पौष्टिक आहार

डोटी असार २०(ई-रैवार)
विद्यालय बन्द रहेको हालको अवस्थामा विद्यार्थीले ‘शिक्षाका लागि खाद्य’ कार्यक्रमको पौष्टिक आहारयूक्त दिवाखाजा घरमै खान पाउने भएका छन् ।
कोभिड–१९को महामारीले हाल नेपालभर विद्यालयहरु बन्द छन् । यस्तो अवस्थामा यो कार्यक्रम लागु भएका विद्यालयका विद्यार्थीहरुले घर–घरमै पौष्टिक आहार खानपाउने व्यवस्था गरिएको छ ।
विश्व खाद्य कार्यक्रमको सहयोगमा ‘शिक्षाका लागि खाद्य’ कार्यक्रम नेपालमा लामो समयदेखी लागु छ । पहिले प्राथमिक विद्यालयहरुमा लागु रहेको यो कार्यक्रम हाल आधारभूत तहका सामुदायिक विद्यालयहरुमा लागु छ । जसअन्तर्गत विद्यालय समयमा दिउँसो खाजा समयमा विद्यालयमै पकाएर खुवाउने गरिन्छ ।
विद्यालय बन्द रहेको हालको परिस्थितीमा पनि विद्यार्थीहरु यसबाट बञ्चित नहोउन भनेर घरघरमै पु–याउने व्यवस्था मिलाईएको शिक्षाका लागि खाद्य कार्यक्रम इकाई कार्यालय डोटीका प्रमुख चेतबहादुर बमले बताए । ‘यो समयमा लगभग तीनमहिना विद्यालय बन्द भईसक्यो । अझ कति हुन्छ ? थाहा छैन,’ उनले भने,‘यस्तो अवस्थामा विद्यार्थीहरु यसबाट बञ्चित नहोउन् । र संगसंगै घरमै बसेर पढ्न पनि मद्दत होस भनेर घरघरमै पठाउने व्यवस्था मिलाईएको हो ।’
हाललाई एक विद्यार्थी बराबर सात किलो चामल र दुई किलो दाल उपलब्ध गराईदै छ । जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पौष्टिक आहारयूक्त पारेर तयार गरिएको इकाई प्रमुख बमले बताए ।
यसैक्रममा शनिवार शिखर नगरपालिका–११ अन्तर्गतका नौवटा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो खाद्यान्न हस्तान्तरण गरिएको छ । सो वितरण कार्यक्रममा डोटी जिल्ला समन्वय समितिका संयोजक राम बहादुर ऐर, शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशी, उप–प्रमुख धौली देवी रावल, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
डोटी जिल्लामा हाल एकसय ६८ विद्यालयमा यो कार्यक्रम लागु रहेको ती विद्यालयहरुमा २० हजार नौ सय ८० जना विद्यार्थीहरु अध्ययनरत रहेको कार्यक्रम इकाई प्रमुख बमले बताए । ‘उहाँहरु सबैलाई घरघरमा पुग्नेगरी व्यवस्था मिलाएर काम भईरहेको छ,’ उनले भने ।