April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्यमन्त्रीलाई भेटेर काँग्रेस नेता साउँदले भने ‘सुदूरपश्चिममा रोकिएको स्वाब संकलन तत्काल शुरू गरियोस्’

धनगढी जेठ २५(ई-रैवार)

सुदूरपश्चिममा रोकिएको थ्रोट स्वाब संकलन कार्य तत्काल सुचारू गर्न नेपाली कांग्रेसका नेता एनपी साउँदले माग गरेका छन् ।  आइतबार बिहान स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी रोकिएको स्वाब संकलन कार्य सुचारू गर्न माग गरेका हुन् ।

उनले सुदूरपश्चिममा अहिलेसम्म ६० हजारभन्दा बढी मानिस भारतका विभिन्न सहरबाट भित्रिएका र जुनसुकै बेला पनि भयावह अवस्था सिर्जना सम्भावना हुनेप्रति सरकारको ध्यानाकर्षण गराए । उनले मन्त्री ढकालसँग परीक्षण केन्द्रको संख्या बढाएर परीक्षणको व्यवस्था मिलाउनसमेत माग गरे ।

‘यस्तो गम्भिर अवस्थामा कोरोना परीक्षणको एकमात्र विश्वसनिय विधि पीसीआरका लागि स्वाब संकलन रोकिन  दुखद विषय हो,’ उनले भने,’त्यसैले सुदूपश्चिममको जनस्वास्थ्यप्रति सरकार जिम्मेवार बन्न आग्रह गरेको छु ।’ भेटमा आफूले स्वास्थ्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशका लागि परीक्षण किट बढीभन्दा बढी उपलब्ध गराएर तत्काल स्थगित नमुना संकलनको काम सुरु गर्न आग्रह गरेको बताए ।

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा संकलन गरिएको नमुनाको धनगढीमा मात्रै परीक्षण भइरहेको छ । उक्त प्रयोगशालाको परीक्षण क्षमता दैनिक दुई सय ५० मात्रै रहेको स्वास्थ्य निर्देशनालयले बताउँदै आएको छ ।