डडेल्धुरामा संक्रमितको सम्पर्कमा आएका १३६ जनाको स्वाब संकलन

डडेल्धुरा जेठ ११(ई-रैवार)
डडेल्धुराका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ३६ जनासहित एक सय ३६ जनाको थ्रोट स्वाब संकलन गरिएको छ।
जिल्लामा पहिलो पटक शुक्रबार सरकारी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमित युवकको सम्पर्कमा आएका ३६ जना र अन्य एक सय जना क्वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन गरिएको हो। डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय ती युवकमा शुक्रबार कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो।
उनको सम्पर्कमा आएका १५ जना परिवारका सदस्य, पाँच जना पत्रकार, १० जना स्वास्थ्यकर्मी र होटल सञ्चालकसहित ६ जनाको शनिबार थ्रोट स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार शनिबार बगरकोटमा अजयमेरु र भागेश्वर गाउँपालिकाको क्वारेन्टाइनमा बसिरहेको ६४ जनाको पनि स्वाब संकलन गरिएको छ। अमरगढी र नवदुर्गाको क्वारेन्टाइनमा बसेका ३० जनाको समेत स्वाब संकलन गरिएको छ।
परशुराम नगरपालिकाको क्वारेन्टनमा बसिरहेका ६ जनाको पनि स्वाब संकलन गरिएको उनले जानकारी दिए। शनिबार नै संक्रमित कर्मचारी कार्यरत कार्यालयका अन्य कर्मचारीसहित १८ जनाको आरडिटी परीक्षण गरिएको छ।
उनीहरू सबैको रिपोर्ट नेजेटिभ आएको कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति भट्टले बताए। शनिबार संकलन गरिएको स्वाब परीक्षणका लागि आइतबार धनगढी प्रयोगशाला कैलाली पठाइएको जानकारी दिए।





प्रतिकृया दिनुहोस्