April 19, 2026, Sunday
२०८३ बैशाख ६

धनगढीमा दुईदिनदेखी कोरोना परिक्षण ठप्प

धनगढी वैशाख २६(ई-रैवार)
तिनदियता सुदूरपश्चिम प्रदेशमा कोरोना परिक्षण किटको मौज्दात सकिएको छ । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण किटको मौज्दात बुधबारदेखी सकिएको हो । जसका कारण परिक्षण ठप्प भएको छ ।
बुधवार साँझ चार जनाको परीक्षण भएको थियो । मौज्दात सकिएपछि चार दिनदेखि संकलन गरिएका शंकास्पद नमूना पनि थन्काईएको छ । विभिन्न जिल्लाबाट शंकास्पद ५५ जनाको थ्रोट स्वाबको नमूना प्रयोगशालामा थन्काइएको छ ।
प्रयोगशालाका अनुसार पीसीआर बिधीबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक हुन्छ । पीसीआर किटको मौज्दात भएपनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ ।
अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको छ । किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका तीन जना बिरामीको पुनः परीक्षण समेत गर्न नसकिएको प्रयागशालाले जनाएको छ ।
किटको मौज्दात सकिएपछि थप शंकास्पदको नमूना संकलन समेत रोकिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि किटको मौज्दात सकिएको बताए । सम्भवत शुक्रबारसम्म संघीय सरकारले पठाउने जानकारी आएको उनले जनाए ।
सुदूरपश्चिम प्रदेशका लागि तीन सयभन्दा बढी किट पठाउने तयारी भएको खबर आएको कार्कीले बताए । शुक्रबार किट पुगेपनि तत्कालै परीक्षण सुरु गर्ने सम्भावना भने न्यून छ ।