April 18, 2026, Saturday
२०८३ बैशाख ५

गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

डोटी चैत्र २४(ई-रैवार)
डोटीको जोरायल गाउँपालिकाकी एक महिलाको भरूवा बन्दुकको गोली लागेर मृृत्यु भएको छ । जोरायल गाउँपालिका–४ देउथलाकी २० वर्षिया अनिता वनको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । उनको मृत्यु ‘हत्या’ वा ‘आत्महत्या’ के हो ? भन्ने अझै खुलेको छैन् ।
यद्यपी प्रहरीले आशंकाका आधारमा उनका श्रीमान २२ वर्षीय खडक वनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले आफुले हत्या नगरेको प्रारम्भीक बयान दिएको प्रहरीले जनाएको छ । मृतक अनिताको वायाँतर्फ छातीमा गोली लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिँह देउवाले जानकारी दिए । उनले भने,‘गोली लागेर मृत्यु जरुर भएको छ । तर, हत्या वा आत्महत्या के हो ? अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।’
प्रहरीले मृतक अनिताको शव भेटिएको घरको माथिल्लो तलामा रहेका दुई कोठा रहेको र भित्रपट्टीको कोठामा घटना भएको जनाएको छ । सोही कोठाको कुनामा भरूवा बन्दुक फेला परेको प्रहरी उपरीक्षक देउवाले बताए ।
मृतकका श्रीमान् खडकले आफु घरको तल्लोतलामा रहेको बेला एक्कासी गोली पड्किएको आवाज आएपछि माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बताएको प्रहरीले जनाएको छ ।
मृत्युमा प्रयोग भएको भरूवा बन्दुक पनि अवैध रहेको प्रहरीले जनाएको छ । घटनाबारे आफु स्थलगत रुपमै गएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक देउवाले बताए ।
डडेलधुराको भागेश्वर गाउँपालिका वडा नं. ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फाल्गुन १३ गते भागी विवाह भएको र फाल्गुन २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको पारिवारिक श्रोतले जनाएको छ ।