April 28, 2026, Tuesday
२०८३ बैशाख १६

तबलिगी समुदायको भेलामा सहभागी एक नेपालीमा कोरोना

नयाँदिल्ली चैत्र २२(ई-रैवार)
भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न तबलिगी समुदाय(मुस्लिम)को धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोनाभाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
सो भेलामा सहभागिहरुमा भारतमा धमाधम कोभिड-१९को संक्रमण देखिदै आएको छ । सोही क्रममा भारतले सो भेलामा सहभागिहरुलाई धमाधम खोजी गरिरहेको छ ।
ती नेपाली भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए। त्यही क्रममा प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो। त्यसपछि उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो। कोरोनाको लक्षण देखिएका दुई जना नेपाली र एक श्रीलंकालीलाई भने आइसोलेसनमा राखिएको थियो। र, गत बुधबार उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। परीक्षणको रिपोर्ट बिहीबार साँझ आएको हो। जसमा ६६ वर्षीय नेपाली पुरुषको कोभिड–१९ भाइरस देखिएको हो। कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको छ।
परीक्षण गरिएका अर्का एक नेपालीको रिपोर्टमा भने कोरोना संक्रमण नदेखिएको डा। कुलदिप सिंहले बताए। अम्बाला पुगेका अन्य ६ जना नेपालीको भने परीक्षण हुन बाँकी छ। र, उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य छ। अम्बाला पुगेका आठै जना भेलाका सहभागी सबै जना पर्सा जिल्लाका रहेका छन्।